काठमाण्डाै – कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी लगानी सम्मेलन २०८२ शुरू भएको छ । लगानी गर्न समयानुकूल वातावरण छ भन्ने सन्देश दिने उद्देश्यले आयोजना गरेको सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो ।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि कोशी प्रदेशमा अनुकूल वातावरण रहेकोले जुनसकै क्षेत्रमा लगानी गर्न सकिने बताउनुभयो । लगानीका लागि ऐन संशोधन गरेर सहज वातावरण बनाइएको भन्दै उहाँले लगानीको सम्भावना प्रचुर रहेको बताउनुभयो ।

यस्तै उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजी क्षेत्रको वारेस बन्न तयार रहेको बताउनुभयो ।

सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनमा चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतलगायत देशबाट लगानीकर्ता विराटनगर आएका छन् । यस्तै गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको पनि जमघट छ ।

प्रदेश सरकारले एक खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरका ७१ वटा परियोजना सोकेसमा राखेको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आईटी र फोहोर प्रशोधनलगायतका क्षेत्रका आयोजना समेटिएको लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा दुए दर्जनभन्दा बढी परियोजनामा सम्झौताको सम्भावना छ ।