पर्सा – सिर्सिया वीरगञ्ज सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको नौ महिनामा ३६ अर्ब ८३ करोड ५८ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले यस अवधिमा वार्षिक लक्ष्यको ६१ दशमलव ३४ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका सूचना अधिकारी युवराज भट्टराईले पछिल्ला महिनामा राजस्व सङ्कलनमा बढोत्तरी हुँदै आएको जानकारी दिनुभयो । कार्यालयले साउनमा तीन अर्ब ७५ करोड, भदौमा चार अर्ब ६४ करोड, असोजमा चार अर्ब ३६ करोड, कात्तिकमा तीन अर्ब ७९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।
त्यस्तै मङ्सिरमा तीन अर्ब २२ करोड, पुसमा तीन अर्ब ५६ करोड, माघमा चार अर्ब २९ करोड, फागुनमा चार अर्ब ६८ करोड र चैतमा चार अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा ६० अर्ब चार करोड ८७ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।