मकवानपुर — बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले स्पोर्टस् अवार्ड गर्ने भएको छ । युवा खेलाडीको प्रोत्साहनका लागि मन्त्रालयले अवार्ड तथा युथ समिट गर्ने भएको हो ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनका अनुसार प्रदेश सरकार स्थापना भएपछि पहिलो पटक स्पोर्टस् अवार्ड तथा युथ समिट हेटौंडामा आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
अवार्ड तथा युथ समिटका लागि मन्त्रालयले ३ सदस्य उपसमिति गठन गरेर तयारीलाई तीव्र बनाएको छ । उपसमितिको संयोजकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठ छन् । सदस्यहरुमा तेक्वान्दोका पूर्वअन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका वरिष्ठ प्रशिक्षक प्रेमबहादुर भण्डारी र खेलकुद पत्रकार प्रकाश तिमल्सिना रहेका छन् ।
मन्त्रालयले जेठको पहिलो साता हेटौंडा उपमहानगरपालिका–४ हुप्र (लोकतान्त्रिक चौर)मा स्पोर्ट्स अवार्ड तथा युथ समिट गर्ने भएको हो । ‘हाम्रो प्रदेशमा रहेका युवा खेलाडीको मनोबल उच्च बनाउन प्रतियोगिता आयोजना गरेर मात्रै पुग्दैन । उनीहरुलाई हौसलासँगै प्रोत्साहन पनि राज्यको तर्फबाट गर्नुपछ भनेर अवार्ड गर्न लागेका हौं,’ उनले भने । उपसमितिले आगामी १० दिनभित्र बागमती प्रदेशभित्र रहेका नयाँ र पुराना गरी ९ जना प्रतिभावान खेलाडीको छनोट गर्नेछ ।
पत्रकारितामार्फत् खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याएका एक जना खेलकुद पत्रकारलाई नगद पुरस्कारसहित सम्मान प्रदान गरिने मन्त्रालयले जानकारी दिएको छ । बागमती प्रदेश सरकार स्थापनाको ७ वर्षमा हालसम्म खेलकुद क्षेत्रबाट दुई जना खेलाडी मात्रै सम्मानित भएको मन्त्री महर्जन बताउँछन् ।
७ महिना अगाडि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गणतन्त्र दिवसको अवसरमा पारा ओलम्पिकमा कास्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई नगद १० लाख र १९ औं एसियन गेम्समा रजत पदक विजेता करातेकी एरिका गुरुङलाई ५ लाख नगदसहित सम्मान गरी हेटौंडा बजार परिक्रमा गराएको थियो ।