बिर्तामोडमा २६ जनालाई कृत्रिम खुट्टा
बिर्तामोड । झापाको विर्तामोडस्थित अग्रणी सामाजिक संस्था अग्रसेन भवनको रजत महोत्सवको अवसरमा खुट्टाको अपाङ्ता भएका व्यक्तिहरुलाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ ।
भवनको नवनिर्मित माथिल्लो तलाको माधवी व्याङक्वेट हलमा मंगलवार शिविरको आयोजना गरी कोशी प्रदेशभरिका २६ जनालाई कृत्रिम खुट्टा वितरण गरिएको हो । आर्थिक अभावमा कृत्रिम खुट्टा लगाउन नपाएका मानिस छनोट गरी उनीहरुलाई शिविर मै नाप अनुसार स्वास्थ्य प्राविधिकको सहयोगमा खुट्टा लगाइएको अग्रसेन भवनका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ ले जानकारी दिए । उनका अनुसार २६ जनामध्ये १६ जनाको कृत्रिम खुट्टा शिविरमै लगाइएको थियो भने ८ जनालाई काठमाडौंमा लगाइएको छ ।
मारवाडी सेवा समिति नेपाल, पशुपति गौशाला धर्मशाला काठमाडौँ, अग्रसेन भवन विर्तामोड र रोटरी क्लव अफ विर्तामोडको संयुक्त आयोजना र अग्रसेन भवनमा सञ्चालन भइरहेको श्री राम कथाका प्रमुख वाचक हरिद्वार भारतका प्रसिद्ध कथावाचक नवराज प्रपन्नजी महाराजको प्रमुख आतिथ्यमा आयोजित शिविरमा निःशुल्क रुपमा कृत्रिम खुट्टा पाएकाहरुले अब हिँडडुलका लागि सहज हुने भन्दै खुशी प्रकट गरे ।
अग्रसेन भवन तथा रोटरी क्लव अफ विर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षतामा सम्पन्न शिविरमा नेपाल राष्ट्रिय मारवाडी परिषदका उपाध्यक्ष एवम् मारवाडी सेवा समिति नेपालका निवर्तमान अध्यक्ष कैलाशचन्द्र गोयल, मारवाडी सेवा समिति नेपालका महासचिव धर्मेन्द्र अग्रवाल, पशुपति गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडीयालगायतको उपस्थिति रहेको कार्यक्रमका संयोजक माँगीलाल अग्रवालले जानकारी दिए ।
अग्रसेन भवनले रजत उत्सवकेै रक्तदान कार्यक्रम आयोजना गरेको थियो । यस्तै, भवनकै आयोजनामा सञ्चालन भइरहेको नौदिवसीय दिव्य श्री राम कथा पनि जारी रहेको र भक्तजनको उल्लेख्य सहभागिता भइरहेको अध्यक्ष भद्रपुरेले जानकारी दिए । रामकथा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।
English 



















































































































































