‘शान्ति’ सुनिश्चित गर्न रुससँग सैन्य सम्बन्ध राखेको उत्तर कोरियाको भनाइ

उत्तर कोरियाले युरोप र एशियामा ‘शान्ति र स्थिरता सुनिश्चित गर्ने’ उद्देश्यले रुससँग सैन्य सम्बन्ध राखेको बताएको छ ।
यसअघि शुक्रवार दक्षिण कोरिया, अमेरिका, जापान र अन्य आठ देशसहितको बहुपक्षीय प्रतिबन्ध अनुगमन समूहले रुस र उत्तर कोरियाको सैन्य सम्बन्धलाई ‘गैरकानूनी’ भन्दै निन्दा गरेको थियो ।
यसको जवाफमा उत्तर कोरियाले सैन्य सहयोगको उद्देश्य ‘राज्यको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र सुरक्षा चासोको रक्षा गर्नुका साथै युरेसियाली क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्ने’ रहेको बताएको हो ।
रुस र उत्तर कोरियाले पछिल्ला वर्षहरूमा सैन्य सहयोग बलियो बनाएका छन् । उत्तर कोरियाले रुसलाई युक्रेनसँगको युद्धमा समर्थन गर्न हतियार र सेनाहरू उपलब्ध गराएको छ ।
गएको अक्टोबरमा शुरू भएको बहुपक्षीय प्रतिबन्ध अनुगमन टोलीले उत्तर कोरियामाथि संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिबन्धको उल्लङ्घनको निगरानी र रिपोर्ट गर्दछ ।
यसको स्थापना रुसले सुरक्षा परिषद्को प्रस्तावलाई भिटो गरेपछि भएको थियो । यो भिटोले सन् २००६ मा पहिलो पटक लागू गरिएका र पछि धेरै पटक बलियो बनाइएका संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरूप्रति उत्तर कोरियाको पालनाको निरीक्षण गर्ने प्रणालीलाई प्रभावकारी रूपमा समाप्त गरेको थियो ।
समूहका अनुसार रुसी झन्डा बोकेका कार्गाे जहाजहरूले सन् २०२४ मा उत्तर कोरियाबाट रुसमा ‘मिश्रित तोपखाना र बहु रकेट लन्चर गोलाबारुदको ९० लाख राउन्ड’ ढुवानी गरेका थिए । बदलामा रुसले उत्तर कोरियालाई वायु रक्षा उपकरण र विमान भेदी मिसाइलहरू प्रदान गरेको समूहको दाबी छ ।
गएको अप्रिलमा उत्तर कोरियाले पहिलो पटक रुसलाई युक्रेनसँगको युद्धमा समर्थन गर्न सेना पठाएको पुष्टि गरेको थियो ।