#अन्तर्राष्ट्रिय #समाचार

युद्धका कारण गाजामा पाँच प्रतिशतभन्दा कम कृषि भूमि प्रयोगयोग्य : खाद्य सङ्कट र भोकमरीको जोखिम थप गम्भीर

युद्धका कारण गाजा क्षेत्रमा पाँच प्रतिशतभन्दा कम कृषि भूमि प्रयोगयोग्य रहेको संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ । यो अवस्थाले त्यस क्षेत्रका बासिन्दालाई खाद्य सङ्कट र भोकमरीको जोखिम थप गम्भीर बन्ने सङ्केत देखिएको छ ।

एफएओले भर्खरै सार्वजनिक गरेको तथ्याङ्कानुसार अप्रिलको अन्त्यसम्म ८० प्रतिशतभन्दा धेरै कृषि क्षेत्र क्षतिग्रस्त भइसकेको छ ।

अहिले जम्मा चार दशमलव ६ प्रतिशतमात्रै खेतीयोग्य क्षेत्र प्रयोग गर्न सकिने अवस्थामा रहेको एफएओले जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

अहिले खेतीका लागि जम्मा ६ सय ८८ हेक्टर अर्थात् (झन्डै एक हजार सात सय एकड) भूमि मात्र बाँकी छ । एफएओका उपमहानिर्देशक बेथ बेचडोलका अनुसार खेतीयोग्य जमिन, हरितगृह र पानीका स्रोतहरू नष्ट भएपछि गाजामा स्थानीय उत्पादन पूरै बन्द नै भएको अवस्था छ ।

युद्ध शुरू हुनुअघि गाजाको कुल अर्थतन्त्रमा कृषिको योगदान झन्डै १० प्रतिशत थियो र झन्डै पाँच लाख ६० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा खेती, पशुपालन वा माछापालनमा आश्रित थिए । इजरायलले हमास लडाकू समूहविरुद्ध गाजामा आफ्नो सैन्य कारबाहीलाई निरन्तरता दिएको छ ।

झन्डै तीन महिनासम्मको नाकाबन्दीपछि गाजामा केही मात्रामा राहत सामग्री प्रवेश गर्न थालेको छ । तर खाद्य र औषधि आपूर्तिको अवस्था चिन्ताजनक नै छ । सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसपछि इजरायलले जवाफी आक्रमण शुरू गरेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *