चन्द्र बस्नेत 

झापाको कनकाई नगरपालिका–४ स्थित इलुवाबारीमा कवर्ड हल निर्माण हुने भएको छ । कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले आज एक कार्यक्रमका बीच कवर्ड हलको शिलान्यास गर्नुभयो । संघीय सरकारले प्रदान गरेको बजेटबाट ‘तुर्सा हेमरम कवर्ड हल’ निर्माण हुने भएको हो ।

कवर्ड हलको शिलान्यास गर्नुहुँदै नगर प्रमुख पोखरेलले नगर क्षेत्रमा सुविधा सम्पन्न कवर्ड हल आवश्यक रहेको बताउनुभयो । खेलकुदसँग सम्बन्धित थप पूर्वाधार निर्माणका लागि सरोकारवाला निकायसँग पहल भइरहेको उहाँले बताउनुभयो ।उहाँले रास्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत सहित सबै आम नगरबासी खेल प्रेमी महानुभाव , कनकाई माविका तत्कालीन व्यवस्थापन समिति , कनकाई सामुदायिक वनका अध्यक्ष सहित समिति यहाँका युवा वर्ग लगायत सबैको अथक प्रयास बाट आज यो कवर्ड हल निर्माणको कार्य सुरुगरिएको जानकारी गराउदै सबैसग सहकार्य गर्दै  समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई सुझाव समेत दिनुभएको छ।

कनकाई खेलकुद विकास समितिका पूर्वअध्यक्ष जविन तिम्सिनाले समितिको पहिलो बैठकमै सुविधा सम्पन्न कवर्ड हल निर्माण गर्ने निर्णय भएको बताउनुभयो । सबैको साथ र सहयोगबाट कवर्ड हल निर्माण हुने चरणमा पुगेको बताउनुभयो ।

कार्यक्रममा कनकाई नगरपालिका वडा नं। ४ वडाध्यक्ष रोषन सुवेदीले सघन सहरी विकास मन्त्रालयबाट प्राप्त भएको रू एक करोड बजेट प्राप्त भए पनि रू ८० लाख टेण्डर लागेको बताउनुभयो । कनकाई माविको चार बिघा जग्गा भाडामा लिएर नगरपालिकाले कवर्ड हल निर्माण गर्न लागेको बताउनुभयो ।

३४ मिटर लम्बाइ र २० मिटर चौडाइको कवर्ड हल निर्माणको ठेक्का केपी पाथीभरा कन्ट्रक्सन प्रालि कनकाई–६ ले पाएको छ । ठेकेदार भोला खड्काले सम्झौता अवधिभित्रै गुणस्तरीय कवर्ड हल निर्माण गर्ने बताउनुभयो ।