एउटा वर्गको साम्राज्य भत्किएको छ। इलेक्टेड र सेलेक्डेड दुवै ठाउँमा समावेशी अनुहारहरू देखिन थालेका छन्। यो सामान्य उपलब्धि होइन।

एक दशकअगाडि मुलुकका कुनै पनि सरकारी कार्यालयहरूमा पुग्दा महिला कर्मचारीहरूको उपस्थिति निकै नगन्य थियो। सबैतिर पुरुषको वर्चश्व देखिन्थ्यो। एउटै जातजाति, समुदाय र क्षेत्रका कर्मचारीहरूको रजगज थियो। महिला कर्मचारी औंलामा गन्न सकिने जति मात्र थिए। कुनै कार्यालयमा महिला कार्यालय प्रमुख रहेछ भने सेवाग्राही तिनै प्रमुखलाई हाकिम साप कहाँ हुनुहुन्छ भनेर सोध्ने गर्थे।

कुनै कार्यालयमा महिला कर्मचारीहरू देखिनु, भेटिनु निकै आश्चर्यको विषय थियो। दलित, जनजाति तथा मधेसी समुदायका कर्मचारीहरू भेट्न निकै मुस्किल पथ्र्यो। तर अहिले यो परिदृश्य फेरिएको छ। जुनसुकै सरकारी कार्यालयको फ्रन्टलाइनमा जानुहोस, महिला भेट्नुहुन्छ। कार्यालयका अफिस र शाखाहरूमा महिलाहरूको बाक्लो उपस्थिति छ। आजका दिनमा काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरू महिलामय नै भइसकेको छन्। एक दशकअगाडि न्यून मात्रामा रहेको महिला प्रतिनिधित्वले निकै फड्को मारिसकेको छ।

राष्ट्रिय जीवनका हरेक क्षेत्रहरू सहभागितामूलक बन्दै गएका छन्। अन्य क्षेत्र जस्तै निजामती सेवा पनि समावेशी बनेको छ। हिजोको समाजलाई आजको दृष्टिकोणले व्याख्या गर्ने हाम्रो दृष्टिमा खोट रहेको छ।

हिजो र आजको समाजको तुलना गर्ने हो भने हामी विकास र समृद्धिको यात्रामा अगाडि बढिरहेकोमा विवाद हुन सक्दैन। विकसित मुलुक र नेपाली समाजबीचको तुलना गर्दा मात्र हामी पछाडि परेको महसुस हुन्छ।

हाम्रा हजुरबुवा र हजुरआमासँग अन्तरसंवाद गर्ने हो भने विकासले निकै फड्को मारिसकेको छ। हिजोको त्यो अविकास, विभेद, द्वन्द्व, पछौटेपन, उत्पीडन, चरम अभाव र गरिबी नभोगेको तथा नदेखेको जेन– जी पुस्ता आज सबैभन्दा असन्तुष्ट र विद्रोही देखिएको छ।

विकासको गति मन्द छ तर अवरुद्ध छैन। राष्ट्रिय जीवनका हरेक क्षेत्रमा हरेक तह तप्का र वर्गको अर्थपूर्ण तथा सार्थक सहभागिता बढ्दैछ।