काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा स्यस्यः समाज, यलको ११ औं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार २०७२ को संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भएका कमी, कमजोरीलाई सुधार गरेर संविधानको मर्म र भावनाअनुरुप हरेकको जीवन र जीविकोपार्जन सहज बनाउने गरी अघि बढिरहेको बताउनु भयो । उहाँले नागरिकको जनजीवन सहज बनाउनका लागि राजनीतिक स्थिरताको आवश्यक भएकाले अहिले नेपाली काँग्रेस र नेकपा एमालेसहितका केही अन्य राजनीतिक दलको सरकार बनेको बताउनु भयो । सबै एकैचोटी विकास गर्न जादुको छडी कोहीसँग नरहेको भन्दै प्रतिकुल अवस्थाबाट अनुकुलतातर्फ लैजान सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो ।

अर्थतन्त्रमा आएको अफ्ठ्यारोपनलाई हटाउनका लागि सरकारले लहलहैमा र पपुलिस्टका कार्यक्रमहरु दिएर नभइ देशलाई सम्हाल्ने, व्यवस्थालाई टिकाइराख्ने किसिमले अघि बढेको बताउनु भयो । सरकारले शुक्रवार जारी गरेको नीति तथा कार्यक्रमबाट पनि देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिस्थितिलाई सम्हाल्ने गरी आएको देखिने स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री सिंहले धेरै संघर्ष गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको भावना र मर्मअनुरुप अभ्यास गर्न पाएकै कारण अहिलेको अधिकार प्राप्त भएको उल्लेख गर्नुभयो । अधिकार मात्रै माग्ने भन्दा आफ्नो जिम्मेवारी पनि सँगै निभाउन सक्नुपर्ने बताउनु भयो ।