२० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएकी छिन् । साथै, उनले सभापति लामिछानेविरुद्ध लगाइएको मुद्दामा कुनै दम नभएको तर्क पनि गरिन् ।
कास्कीको रुपा गाउँपालिकाको कार्यालय उद्घाटन तथा क्यालेन्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
आफूहरू नेतृत्वको ढाकछोप गर्ने पुस्ता नभएको जानकारी गराउँदै आफू सचेत नागरिक र कानुनको विद्यार्थी भएर सभापति लामिछानेको मुद्दाबारे टिप्पणी गरेको बताइन् ।
‘हामी नेतृत्वले गरेको गल्ती ढाकछोप गर्ने पुस्ता होइनौं, तर म एउटा सचेत नागरिक भएको हिसाबले, कानुनको विद्यार्थी भएको हिसाबले के चाहिँ भन्न चाहन्छु भने त्यो मुद्दामा दम छैन, त्यहाँ टालटुल गरेर मुद्दा बनाइएको छ,’ उनले भनिन् ।